सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्युटी पेजेन्टको नाममा बलात्कारः पीडित र आरोपित दुवै प्रहरीको सम्पर्कमा

२०७९ जेठ ६, ०५:०४ खबर संवाददाता

काठमाडौंः सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको आरोप लगाएकी युवती प्रहरीको सम्पर्कमा आएकी छन्। शुक्रबार मध्याह्न काठमाडौंंस्थित पीडितको घरमा पुगेर युवतीलाई भेटेर प्रहरीले अनुसन्धान शुरु गरेको महानगरीय अपराध महाशाखाका प्रमुख बसन्त कुँवरले बताए।

पीडितसँग सम्पर्क गरेर अपराध महाशाखाले पीडितलाई काउन्सिलिङ गरिरहेको छ। साथै उनले लगाएको आरोपबारेमा अनुसन्धान अघि बढाएको छ। ‘‘हामी पीडितको घरमा पुगेका छौं। सत्य तथ्य बुझ्ने र उहाँलाई काउन्सिलिङ गर्ने प्रक्रिया अगाडि बढाएका छौँ,’’ अपराध महाशाखाका प्रमुख एसएसपी कुँवरले बताए। अहिले पीडितको घरमा महिला अधिकारकर्मीहरू समेत पुगेका छन्। पीडितका आफन्त समेत घरमा पुगेकाले भीड रहेको प्रहरीले बताएको छ। पीडितलाई भेट्नेहरूको भीड लाग्दा झन् मानसिक रूपमा तनाव हुनसक्ने भन्दै प्रहरीले नजान आग्रह गरेको छ। महाशाखाका प्रमुख एसएसपी कुँवरले भने ‘‘अहिले पीडितको घर धेरै मानिसहरूको जमघट छ। यसले पीडितलाई थप नकारात्मक असर पर्न सक्छ। हामीले पीडितलाई काउन्सिलिङ गरिरहेका छौँ। महिला अधिकारकर्मीहरू तथा आफन्तको भीड छ। यसैले अहिले केही दिन अरुलाई नजान आग्रह गरेको छ।’’

भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको ती युवतीको आरोप छ। सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा सहभागी ती युवतीले आयोजकले आफ्नो नाङ्गो फोटो खिचेर ब्लाकमेलिङ गर्दै ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी हुन्। उनले प्रहरीमा भने उजुरी दिएकी छैनन्। सामाजिक सञ्जालमा भेटिएको भिडिओकै आधारमा प्रहरीले पीडितले नाम लिएका व्यक्तिहरूमाथि समेत निगरानी बढाएको छ। पीडित युवतीलाई न्याय दिलाउन माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ।

आरोपित पनि प्रहरीको सम्पर्कमा

२०७४ भदौ १ मा जारी मुलुकी अपराध संहिता सम्बन्धी ऐनमा बलात्कारसम्बन्धी मुद्दामा एक वर्षभित्र उजुरी दिनुपर्ने उल्लेख छ। नाबालिगको उमेर बढाएर १८ बनाएको छ। ती युवतीले आफू १६ वर्ष हुँदा बलात्कृत भएको बताएकी छिन्। घटना २०७१ भदौतिरको हो। त्यो समयमा कायम रहेको मुलुकी ऐनले बालिगको उमेर १६ उल्लेख गरेको थियो। ती युवतीले भिडियोमा दाबी गरे अनुसार उनको हकमा यी दुवै हदम्याद नाघिसकेको देखिन्छ। हदम्याद नाघे पनि घटना संवेदनशील भएको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ। आरोपितलाई समेत प्रहरीले सम्पर्क गरेको छ। बलत्कारको मुद्दा लागेका सुन्दरी प्रतियोगिताका आयोजक सदस्य समेतलाई पनि प्रहरीले सम्पर्क गरेर घटनाका विषयमा सोधपुछ थालेको प्रहरी स्रोतले बताएको छ।
 

कमेन्ट लोड गर्नुस