बलिउडका चर्चित गायक केकेको निधन
एजेन्सी: बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ। उनलाई केकेको नामले चिन्थे।
५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए। कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए। कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए। उनले पत्रकारहरूसँग भने, ‘केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ। तर शव पोस्टमार्टमका लागि पठाइएको छ।' मृत अवस्थामा अस्पताल ल्याइएको उनले बताए।
तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए। यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो। तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए।
होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए। तर बिग्रिएको स्वास्थ्यका कारण उनले अस्वीकार गरे। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। केकेले धेरै बलिउड फिल्मका लागि गीत गाए। 'हम दिल दे चुके सनम' मा उनले गाएका 'तडप तडप के इस दिल से...' र 'ओम शान्ति ओम' मा 'आँखों मे तेरी...' लाई दर्शकले राम्रै रुचाएका थिए।
उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए। केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए। अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन्।
केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'केके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु। उनका गीतहरूले फरक-फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छुने गरेका छन्। उनको परिवार र प्रशंसकहरूले उनलाई गीतमार्फत सम्झिनेछन्।'