साउथ इन्डियन ‘फ्लेभर’ मा बनेको डोटेली चलचित्र ‘माउडे’ शनिबारबाट हलमा (ट्रेलरसहित)
धनगढीः डोटेली भाषामा बनेको ‘मास मसाला’ चलचित्र ‘माउडे’ आउँदो शनिबारदेखि हलमा प्रर्दशन हुने भएको छ। दुनिर माष्ठा फिल्म प्रालिले निर्माण गरेको ‘माउडे’ चलचित्र महेन्द्रनगरको सेती महाकाली फिल्म हलमा प्रर्दशन हुने भएको हो।
जीवन सिंहको निर्देशन र सुरज भण्डारी निर्माता रहेको माउडेको राज ए भट्ट र दामोदर साउँद सह–निर्माता रहेका छन्। कलिवुडमा नेपाली भाषामा नै विभिन्न चलचित्र निर्माण हुने भएकाले सुदूरपश्चिम चिनाउने डोटेली भाषालाई सम्बद्र्धन तथा संरक्षण गर्न उक्त चलचित्र बनाइएको निर्देशक सिंहले बताए।
चलचित्रमा सुदूरपश्चमेली भाषा एवं पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गरिएको उनले बताए। निर्माता समेत रहेका निर्देशक सिंहका अनुसार शुक्रबार प्रिमियर सो महेन्द्रनगरमा हुने तथा शनिबारदेखि महेन्द्रगरको फिल्महलमा प्रर्दशन गरिने र विस्तारै अन्य जिल्लाहरुमा समेत प्रर्दशन गरिनेछ।
उक्त चलचित्र निर्माणमा १५ लाख बजेट लागेको बताइएको छ। स्थानीय कलाकारबाट अभिनिति चलचित्र कञ्चनपुरका विभिन्न स्थानीय पर्यटकीय ऐतिहासिक क्षेत्रमा छायाङकन गरिएको छ। जीवन सिंह नायक र सुर्य सोनम खलनायकको भूमिकामा रहेको चलचित्रमा एक सय हाराहारीकै कलाकार रहेका बताइएको छ।