सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्रष्टा भेटघाट र रचना वाचन

२०७९ साउन ७, १०:३९ खबर संवाददाता

धनगढी: धनगढी कोरोना महामारीदेखि ठप्प रहेको धनगढीको साहित्यिक वृत्त पुनः जुर्मुराएको छ। शनिबार धनगढीमा यस क्षेत्रका सक्रिय स्रष्टाहरुको भेलाले साहित्यिक गतिविधिहरुलाई अघि बढाउने निर्णय गरेको हो।

सृजननशील मञ्च, सुदूरपश्चिमको संयोजनमा धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा यस क्षेत्रका चार दर्जन बढी स्रष्टा तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको सहभागितामा साहित्यिक पुनर्जागरण कार्यक्रम सञ्चालन भएको हो । यस क्षेत्रका स्रष्टाहरुको पुन:जागरणका लागि 'स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम' आयोजना गरिएको थियो।

कार्यक्रममा रचनावाचनका साथै आगामी कार्ययोजनाबारे छलफल समेत भएको छ। कोरोना महामारी अघिसम्म धनगढीमा नियमित रुपमा टिकटमा साहित्यिक कार्यक्रम 'धनगढी सृजना उत्सव' तथा 'नियमित रचनावाचन शृंखला' सञ्चालन हुँदै आएकोमा कोरोना महामारीका कारण यी कार्यक्रमहरु स्थगित भएका थिए। अब ती कार्यक्रमहरु पुनः नियमित रुपमा अघि बढाइने सृजनशील मञ्चले जनाएको छ। त्यसबाहेक प्रशिक्षण, प्रकाशन, अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि अघि बढाइने संस्थाले जनाएको छ।

लामो समय धनगढीमा खुला प्रकृतिका साहित्यिक कार्यक्रमहरु नभएको कारण सर्जकहरुले आफ्ना सृजना सार्वजनिक गर्ने अवसर नपाएकोमा अब सबै सर्जकहरुले उचित मञ्च पाउनेमा आशावादी तथा उत्साहित रहेको सहभागी स्रष्टाहरुले प्रतिक्रिया दिएका छन्। यस क्षेत्रका स्रष्टाहरूको सबलिकरण तथा सृजनात्मक विकास आफ्नो मूल लक्ष रहेको कुरा संस्थाका अध्यक्ष जनक रसिकले बताएका छन्।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार, प्रदेश युवा परिषदका कार्यकारी सदस्य शेर सिंह बिष्ट, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट लगायतले स्रष्टाहरुको यो अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा साहित्यकार हिरा भट्ट, गणेश नेपाली, श्रीजन श्री, तुलशी शर्मा, तारा पल्लवी, तोयनाथ भट्ट, लोक बिक्रम मल्ल, रमेश ओझा सानु, रीयल एनलाइसिस, सानू देवकोटा, सत्यराज जोशी, अमर खड्का, धर्मराज जोशी, रोहित भट्ट, तपेन्द्र घोडासैनी, दानबहादुर सुनार, शेरसिंह बिष्ट, तेज पुरुष, थकित नायक, अबि प्यारे, निर्दोष एन पी, चेतराज जोशी, इन्दु धामी, कुश्मा भट्ट, सिद्ध समर्पण, किरन विश्वक्रमा, गोविन्द अवस्थी, समीर ओझा, जगन्नाथ अवस्थी, विजयराज भट्ट, प्रेम विवश चन्द, भरत साउँद हरामी,जनक धामी, गिरिजा प्रसाद पनेरु, शैलेश रावत, चित्र राज ओझा, टेकराज कापडी, यज्ञराज कापडी, सन्ध्या जोशी लगायत दर्जनौं सर्जकले आ-आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण सृजनशील मञ्च, सुदूरपश्चिमका सचिव डिल्लीराज ओझा समर्पणले गरेका थिए।

No description available.

कमेन्ट लोड गर्नुस