तस्विर दुरुपयोग भएपछि केकीले भनिन्ः जनतालाई झुक्याउन खोजियो
काठमाडौंः पछिल्लो समय सेलिब्रिटीको तस्वीर दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ। अभिनेत्री प्रियंका कार्कीको फोटो क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रयोग भएपछि प्रहरीको साइबर ब्युरोले उनीसँग सोधपुछ गरेको थियो।
यतिबेला अभिनेत्री केकी अधिकारी तस्विर दुरुपयोगको यो हैरानीबाट पीडित भएकी छन्। ‘बेटर मी’ नामक एक ब्रान्डले केकीको तस्वीर प्रयोग गर्दै आफ्नो उत्पादनको प्रचार गरिरहेको छ। ‘दुई महिनामा मेरो तौल ८५ केजीको सट्टा ५५ केजी मात्र कसरी भयो ?’ उक्त उत्पादकले केकीको भेरिफाइड फेसबुक पेजको फोटोसप गर्दै पोस्ट गरेको छ।
सामाजिक सञ्जालमा यसरी प्रचार गरिएपछि अहिले केकीलाई लगातार फोन आएर हैरान छ। ‘मैले अहिलेसम्म यस्तो विज्ञापनमा काम गरेकी पनि छैन र यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्छु,’ केकीले भनिन्, ‘यसविरुद्ध कानुनी उपचारमा पनि जानुपर्ने हुनसक्छ। तस्विर दुरुपयोग गरेर जनतालाई झुक्याउन खोजेको देखियो।’