वाइसिएलको केन्द्रीय पदाधिकारीमा सुदूरपश्चिमका ६ जना अटाए
धनगढीः नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन्। काठमाडौंमा आइतबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट सेर्पालीको नेतृत्वमा ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो।
महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन्। सुदूरपश्चिम प्रदेशबाट वाइसिएलको केन्द्रीय पदाधिकारीमा ६ जना चयन भएका छन्। उपाध्यक्ष, उपमहासचिव र सचिवमा सुदूरपश्चिम प्रदेशका ६ जना माओवादी नेता चयन भएका हुन्। वाइसिएलको केन्द्रीय उपाध्यक्षमा मञ्जु बम र मीनबहादुर घर्ती चयन भएका छन्। उपमहासचिवको जिम्मेवारी दिलबहादुर थापा ‘तुफान’ ले पाएका छन्। सचिवमा नवराज ऐर र शिव बोगटी र सूर्यकला थापा चयन भएका हुन्।
केन्द्रस्य सदस्यमा सुरज खाती, धनबहादुर जाग्री, बसन्त कार्की, योगेश साउँद, र अर्जुन साउँद, रबिन बिसी, निर्मला विष्ट, नरबहादुर विष्ट, वसन्तसिंह कार्की, चन्द्रा ठगुन्ना, सुरेन्द्र शाही, सुरेन्द्र विक, द्रोपती राना, संगिता चौधरीलगायत छन्। वाइसिएलले भूगोलबाट एक जिल्ला एक सदस्य समावेश गर्ने निर्णय गरेको थियो। वाइसिएल केन्द्रीय उपाध्यक्षमा चयन भएकी मञ्जु बम अघिल्लो कार्यकालमा केन्द्रीय सचिव थिइन्।
उपमहासचिवमा चयन भएका तुफान अघिल्लो कार्यकालमा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज थिए। उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। बझाङबाट केन्द्रीय सदस्यमा चयन भएका रविन बिसी वाइसिएल बझाङका अध्यक्ष हुन्।