गठबन्धनका ‘हेभिवेट’ नेताको जिल्ला डोटीमा एमालेबाट संघका लागि ४ दाबेदार (नामसहित)
चर्चामा डोटी
धनगढीः संसदीय निर्वाचनको घोषणासँगै डोटी चर्चामा छ। चुनाव घोषणासँगै दलहरुको चुनावी तयारी, सत्ता गठबन्धनभित्र भागवण्डाको किचलो र ‘हेभिवेट’ नेताहरुको टिकटमा दाबेदारीले डोटीको चर्चा चुलिएको हो।
सरकारले यसअघि नै मंसिर ४ मा संसदीय निर्वाचन अन्तरगत प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव एकैपटक गर्ने घोषणा गरेको थियो। उक्त घोषणासँगै प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेताहरुले चुनावी दाउपेच बढाएका छन्।
यहाँबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता तथा पूर्व मन्त्री प्रेमबहादुर आले, नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सत्ता गठबन्धनमा प्रतिनिधित्व गर्छन्। उनीहरुबीच टिकट लिने रस्साकस्सीका कारण पनि डोटीको चर्चामा थप बल पुगेको हो। तर, डोटीमा नेपाली काँग्रेसले भने एक्लै चुनाव लड्ने र गठबन्धन नमान्ने निर्णय गरको छ। अन्य दलहरुको भने आधिकारिक धारणा आएको छैन।
सत्ता गठबन्धनका नेताहरुले चुनाव केन्द्रित क्रियाकलाप बढाएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि डोटीमा चुनाव लक्षित गतिविधि बढाएको छ। एमाले डोटीका सचिव शेरबहादुर मल्लका अनुसार भदौ २० गते उम्मेदवार सिफारिसको तयारी थालिएको छ। प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेदवारहरुसँग छलफल गरेर जिल्ला कमिटीले माथिल्लो कमिटीलाई सिफारिस गर्ने तयारी भैरहेको बताइएको छ।
‘हामी चुनावी तयारीमा छौं’, सचिव मल्लले भने, ‘थुप्रै साथीहरुले निर्वाचन लड्ने आकांक्षा प्रस्तुत गर्नुभएको छ। अहिले पार्टीमा केही नयाँ र पुराना साथीहरुले आफ्नो उम्मेदवारीबारे आकांक्षा राख्ने क्रम जारी छ।’ यद्यपी पार्टीले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।
यस्तै एमाले निकट स्रोतका अनुसार पार्टीका डोटी जिल्ला अध्यक्षले नै चुनाव लड्ने इच्छा देखाएकाले उनले टिकट पाउने सम्भावना बलियो रहेको छ।
यी हुन् एमालेबाट प्रतिनिधिसभाका लागि आकांक्षी
मीन बोहरा-नयाँ प्रवेशी
गणेश भट्ट-प्रदेश कमिटी सचिवालय सदस्य
लक्ष्मण खड्का-प्रदेश कमिटी सदस्य
चक्रबहादुर मल्ल-डोटीका जिल्ला अध्यक्ष