सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी नछाड्ने रटान लगाएका बलायर किन झर्दैछन् कैलाली ? 

डोटीमा आले

२०७९ असोज ७, ०१:०४ खबर संवाददाता

धनगढीः डोटीमा प्रतिनिधिसभाको सीटका लागि गठबन्धन सहमति नजिक पुगेको छ। यसअघि  गठबन्धनकै तीन नेताहरुको दाबी रहेको डोटीमा सहमतिको सम्भावना बढेको हो। 

यहाँ नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले सशक्त दाबी गरेका थिए। कांग्रेसबाट प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर, नेकपा एसबाट पूर्वमन्त्री प्रेमबहादुर आले र माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका थिए। 

गत निर्वाचनमा बामगठबन्धनका तर्फबाट चुनाव जितेका आलेले पनि डोटीमा दाबी गरेपछि देउवालाई गठबन्धनमा भाग मिलाउन समस्या परेको थियो। तर, अहिले बलायरलाई कैलाली ४ बाट चुनाव लडाउने गरि सहमति गरिएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार डोटी नेकपा (एस) ले पाउने निश्चितजस्तै भएको छ।

यता बलायरले पनि डोटी छोडेर कैलाली ४ आउने तयारी थालेको जनाएका छन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव गरेपछि उनी कैलाली ४ आउन राजी भएको बताइएको छ। बलायर क्षेत्र नम्बर ४ मा निर्वाचन लड्ने भएपछि यसअघि क्षेत्र नम्बर ४ बाट सिफारिसमा परेकाहरूलाई भने देउवाले अझैसम्म मनाउन सकेका छैनन्। यसअघि यहाँ सुनिल भण्डारी, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकको नाम सिफारिस भएको थियो।

प्रदेश सभापति बलायरले रोजेको कैलाली क्षेत्र नम्बर ४ मा अघिल्लो पटक बाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई हराउँदै तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट विजयी भएका थिए। भट्टले १० हजार ३९९ मतान्तरले भण्डारीलाई हराएका थिए। अहिले पनि नेकपा एमालेको तर्फबाट भट्ट नै उम्मेदवार बन्ने पक्का भइसकेको छ। यो क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसहित नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको पनि सशक्त दाबी रहेको थियो। तर, डोटी नेकपा एकीकृत समाजवादीलाई दिएर बलायर कैलाली ४ मा आउन चाहेको अवस्थामा यो क्षेत्र कांग्रेसले पाउने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस