प्रधानमन्त्रीका प्रेस सल्लाहकारको उम्मेदवारी खारेज
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। प्रतिनिधिसभाको समानुपातिकमा दलिततर्फ चार नम्बरमा रहेका परियारको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरिदिएको छ।
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको थियो। जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जनासमेत परेका छन्।
उनीहरुसँगै निर्वाचन आयोगले प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको हो। नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारविरुद्ध आयोगमा उजुरी परेको थियो। परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कायम रहेको र उक्त पदबाट राजीनामा नदिएको भन्दै नाम हटाइएको हो।