सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्ष ओली १८ गते दार्चुला आउने

२०७९ कार्तिक १४, ०५:३३ खबर संवाददाता

दार्चुलाः आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको लागि नेकपा (एमाले) ले दार्चुलाको खलंगाबाट राष्ट्रव्यापी अभियान सुरु गर्ने भएको छ। अभियानलाई सम्बोधन गर्न यहीँ महिनाको १८ गते अध्यक्ष केपी शर्मा ओली आउने भएका छन्।

ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावी सभाको उद्घाटन हुने भएपछि एमाले दार्चुलाले त्यसको तयारी तीव्र पारेको जनाएको छ। एमाले प्रचार विभाग प्रमुख खडक बडालले खलंगामा हुने चुनावी सभामा जिल्लाभरिका १० हजार जनता उतार्ने लक्ष्य रहेको बताए।

पहिलोपटक जिल्लाबाट देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता बनाउने एमालेको दाबी छ। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि पहिलोपटक दार्चुलामा ओलीको भ्रमण हुन लागेको हो।

यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वरस्थित आमसभामा पुगेका थिए। ९ वर्षपछि पुनः दार्चुलामा हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गर्ने भएको छ।

कमेन्ट लोड गर्नुस