सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनको भोट पनि आउँछ, डोटेली जनताको भविष्य बनाउन मैलें जित्छुः टेकबहादुर बम [अन्तर्वार्ता]

२०७९ कार्तिक १६, ०६:५८ खबर संवाददाता

धनगढीः संसदीय चुनावको मिती नजिकिदै छ। देशैभर दल तथा दलका उम्मेदवारहरु गाउँघर, टोल र मतदाताको घरदैलोमा केन्द्रित भएका छन्। उम्मेदवारहरु चुनाव जसरी पनि जित्ने होडमा छन्। विभिन्न चुनावी एजेण्डा र योजनाका साथ उनीहरु जनता रिझाउँनमा व्यस्त देखिन्छन्।

यस्तै सुदूरपश्चिमको डोटीमा पनि चुनावी माहोलले आकार लिइसकेको अवस्था छ। संघ र प्रदेश सभाका उम्मेदवारहरु चुनावी अभियान र घरदैलोमा जुटेका छन्। एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा २ वटा प्रदेश सभाका क्षेत्रहरु छन्। जहाँ नेकपा एमाले र सत्ता गठबन्धन दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर (२) मा एमालेले युवा नेता टेकबहादुर बमलाई चुनावी मैदानमा खडा गरेको छ। उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका शिवसिंह ओलीसँग भिड्दैछन्। 

प्रस्तुत छ, उनै एमालेका उम्मेदवार टेकबहादुर बमसँग दिनेशकर्मीले समसामयिक चुनावी अवस्थाबारे गरेको कुराकानी 

तपाई नेकपा (एमाले) बाट प्रदेश सभातर्फ उम्मेदवार हुनुहुन्छ। के कस्ता चुनावी एजेण्डा लिएर जनतामाझ गइरहनु भएको छ ? 
नेकपा एमालेले मलाई उम्मेदवारको रुपमा अगाडि सारिसकेपछि  डोटेली जनताको मन जित्ने गरि मैले चुनावी अभियान चलाएको छु। हामी घरदैलो गरिरहेका छौ। जनताका घरघरमा गएर भेट्दै सबैलाई मतका लागि अनुरोध पनि गरिरहेका छौ। एजेण्डाको सवालमा पार्टीको हाम्रो आफ्नो एजेण्डाहरु छन्।

नेकपा एमालेले यो देशको भविष्य निर्माणका लागि विभिन्न परिकल्पना गरेका कुराहरु छन्। एमालेले यो देशको विकासका लागि, जनताका सपना पुरा गर्ने अठोटहरु लिएको छ। हालै हाम्रो पार्टीको घोषणापत्र पनि जारी भएको छ। त्यो घोषणा पत्रमा सबै कुराहरु समेटिएका छन्। 

हामीले आफ्ना प्रदेशस्तरमा र जिल्ला तथा क्षेत्रमा पनि हाम्रा विविध योजनाहरु, एजेण्डाहरु छन्। समग्र क्षेत्रको विकासका लगि हामीले जनतामाझ प्रतिवद्धता पनि गरिरहेका छौ। स्थानीयस्तरमा नागरिकका आवश्यताहरुलाई ध्यानमा राखेर विकास निर्माणका कामहरु अगाडि बढाउने, यहाँका सामाजिक कुरीतिहरु हटाउने र आर्थिक रुपमा जनतालाई शसक्त बनाउने हाम्रा प्रमुख योजनाहरु हुन्। यसका अलवा शिक्षा, स्वास्थ्य, रोजगारी र सडक पूर्वाधारहरु पनि हाम्रा एजेण्डाहरु छन्। डोटेली जनताको भविष्य निर्माण गर्ने हाम्रा योजनाहरु तयार छन्। 

तपाईले आफ्ना यी एजेण्डाहरु जिकिर गरिरहँदा उम्मेदवारहरुले जनता सवालमा केन्द्रित योजनाहरु खासै नल्याएको भन्ने पनि आरोप छ, यसलाई कसरी चिर्नुहुन्छ ? 
पक्कै पनि विकास भनेको आवश्यकतामुखी हुनुपर्छ। कसैले लादेको कुरा त्यो विकास हुन सक्दैन। विकासको अवधारणा नै हेर्ने हो भनेपनि विकास प्रत्यक्ष रुपमा जनतालाई प्रत्याभूत हुने खालको हुनुपर्छ। यसअघि नेतृत्वमा पुगेका नेताहरुले राजधानी र ठूला सहरहरु धनगढी र काठमाडौंमा बसेर निकटका कार्यकर्ताहरुलाई गाउँमा के कस्ता योजनाहरु चाहियो ? भनेर भन्ने गरेको देखियो। यस्ता योजनाहरुमा थुप्रै बजेट दुरुपयोग पनि भएको देखिन्छ।

जनताले पनि यो कुराको निकै गुनासो गरेको अवस्था छ। मेरो आफ्नो योजना के छ भने मलाई डोटेली जनताले निर्वाचित गराउनुभयो भने मैले सरकारको बजेट बन्नु भन्दा अगाडि कम्तिमा पनि वर्षको एक पटक चुनावको बेलाजस्तै सबैको घरदैलोमा गएर योजनाहरु र बजेट हाल्ने विषयमा सुझाव माग्छु। घर तथा टोलटोलमा गएर जनताहरुसँग बसेर उहाँहरुलाई नै सोध्छु, यहाँको आवश्यकता के हो ? मेरो मनले भनेका योजनाहरु भन्दा पनि जनताको आवश्यक मागअनुसार आफ्ना निर्वाचन क्षेत्रका जनताका मागहरुलाई सम्बोधन गर्नेछु। 

त्यतिमात्रै होइन म सबै योजनाहरुको अनुगमन गर्ने वातावरण पनि बनाउँछु। सामूहिक विकास र योजनाहरु हामीले हेर्नुपर्ने हुन्छ। जनताको हकमा काम गर्ने र म स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर विकासको काममा लाग्छु। 

तपाई नेकपा एमालेबाट एकल रुपमा चुनावी मैदानमा हुनुहुन्छ। एमालेविरुद्ध सत्ता गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवार उठाएको अवस्था छ। यस्तो स्थितिमा तपाइले जित्नुहुन्छ त ? 
पक्कै पनि एमाले सिंगल लडिरहेको छ। डोटीमा गठबन्धनले बाहिर एमाले कमजोरजस्तो देखिएको भउपनि त्यो होइन। अहिले डोटीको हकमा एमाले जितको एकदमै नजिक पुगेको अवस्था हो। म जनताको घरदैलोमा जाने बेलामा पनि जो गठबन्धनका कार्यकर्ताहरु हुनुहुन्छ, गठबन्धनका मतदाताहरु हुनुहुन्छ। उहाँहरुले पनि एमालेलाई मत दिने भनेर भन्छन्। यसअघि गठबन्धनका उम्मेदवारलाई मत दिनेहरु पनि एमालेप्रति सकरात्मक प्रतिक्रिया दिइरहेका छन्।

म एउटा युवा मान्छे पनि हो, नयाँ मान्छे हो।  पहिलोपटक संसदीय चुनाव लड्दै छु। युवामा हुनुपर्ने जोश, उत्साह र भविष्य तपाईसँग छ भनेर मलाई जनताहरुले भनिरहेका छन्। त्यसकारणले पनि हामी जितको निकट छौ। जनताको विश्वास नै मेरो जितको बलियो आधार हो।  मेरा एजेण्डा र योजनाहरु त्यसपछिका आधार हुन्। 

तपाइको निर्वाचन क्षेत्रमा तपाइको प्रतिस्पर्धीको रुपमा यसअघिको सरकारको पालामा सत्ताको निकट रहेर काम गर्नुभएका उम्मेदवार हुनुहुन्छ। अहिले पनि उहाँहरुकै सरकार छ, सत्ता र शक्तिले त बहुत ठूलो प्रभाव पार्छ भनेर पनि भनिन्छ ? यसले गर्दा तपाइलाई कत्तिको चुनौति हुन्छ ? 
मेरो प्रतिस्पर्धीको बारेमा मैले भन्नुपर्दा उहाँहरु कहि न कतै सत्ताको नजिक बसेर जुन पाँच वर्ष बिताउनुभयो। त्यो मेरो लागि भने चुनौती नभएर जितको आधार बनेको छ। त्यसका विभिन्न पाटाहरु होलान्। जनताको घरदैलोमा जाँदा ती कुराहरु आइरहेका छन्। उहाँहरुले सत्ता सन्चालन गरिरहदा गरेका जुन कामहरु छन्, जुन विकास बजेटमा गरिएका अनियमितताहरु छन्। त्यो कुराहरुले नै पनि मलाई जनताले जिताउनेछन्। जनताले मलाई रुचाएका छन्। 

तपाइको  पार्टीभित्र पनि विभिन्न ठाउँहरुमा अन्तरविवाद भएका कुराहरु आइरहेका छन्, डोटीको अवस्था पनि त्यस्तै हो ? 
होइन, डोटीमा त्यस्तो अवस्था छैन। नेकपा एमाले एकढिक्का छ। पार्टीभित्र कुनै समस्या छैन। एमालेले डोटीमा सबै सीट जित्छ। 

कमेन्ट लोड गर्नुस