नैतिकता प्रदर्शन गर्न भीम रावललाई ओलीको आग्रह
काठमाडौं : नेकपा एमालेका नेता भीम रावललाई नैतिकता प्रदर्शन गर्न अध्यक्ष केपी शर्मा ओलीलआग्रह गरेका छन्। प्रवासी नेपाली मञ्चको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीभित्रका असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन्। उनले एमालेका नेताहरूका व्यवहार अनुशरणीय हुनुपर्ने बताए।
उनले भने, ‘एमालेका नेता कार्यकर्ताहरूमा व्यक्तिगत रूपमा अनुकरणीय हुनुपर्छ। म कसैलाई अनुकरण गर्नु भन्दिनँ। अनुशरणीय हुनुपर्छ। नेताका विचार, व्यवहार, क्रियाकलाप, बोली व्यवहार अनुशरणीय हुनुपर्छ,’ उनले भने, ‘ताकी अरूले केही सिकून्। मान्छेले हेर्दा एमालेको नेता भनेको छ तर, नकारात्मक दृष्टान्त दिनुपर्यो भने त्योभन्दा नमज्जा के हुन्छ? महत्वपूर्ण जिम्मेवारीमा छ तर, चरित्र हेर्यो भने सम्झिनलायक छैन भने कसरी नेता भयो?’
प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि असन्तुष्ट बनेका नेता रावलले निरन्तर पार्टी नेतृत्वको विरोध गर्दै आइरहेका छन्।
शुक्रबार कञ्चनपुरमा ओलीले निर्वाचनको सभामा सम्बोधन गरिरहँदा पनि बीचबाट भीम रावलको खोजी भएको थियो। अध्यक्ष ओलीले उल्टै ०४८ सालदेखि नेता रावलले नै अवसर पाइरहेको र अब अन्य रावलहरूलाई पनि अवसर दिनुपर्ने बेला भएको भन्दै भिड, हुटिङ र आवाजलाई शान्त पारेका थिए।