प्रधानमन्त्रीमा प्रचण्डले दाबी गर्नु भएको छैनः कांग्रेस प्रवक्ता महत
हेटौंडाः नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी नगरेको बताएका छन्। मंगलबार प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीहरुले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी गरेको हो भनेर सोधेको प्रश्नमा उनले भने, ‘प्रचण्ड जीले दाबी गर्नु भएको छैन। समर्थक शुभेच्छुकले भन्नु भएको होला। प्रधानमन्त्रीको विषयमा औपचारिकरुपमा कुनै सहमति भएको छैन।’
उनले निर्वाचनपश्चात् बन्ने गठबन्धनको सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको बताए। महतले चुनावपछि पनि गठबन्धनको सरकार बन्ने दावी गर्दै प्रधानमन्त्रीको विषयमा गठबन्धनमा हालसम्म कुनै सहमती नभएको बताए।
महतले चुनावपछि बन्ने गठबन्धन सरकारको नेतृत्व कसले गर्ने निर्णय भइनसकेको भएपनि नेपाली कांग्रेसले नै गर्ने दावी पनि गरे।