सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगको स्पष्टीकरण

२०७९ कार्तिक ३०, ०२:०९ खबर संवाददाता

धनगढीः डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख र उप–प्रमुखलाई स्पष्टीकरण सोधिएको छ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत आफुनिकट उम्मेदवारलाई भोट मागेको भन्दै प्रमुख भरत बडायर जोशी र उप–प्रमुख बिमला कुमारी बोहरालाई स्पष्टीकरण सोधेको हो। 

उनीहरुले निर्वाचन आचारसंहिता विपरीत आफूनिकट दल र उम्मेदवारलाई मत मागेको र कार्यक्रममा सहभागी भएको देखिने सामग्रीहरू संलग्न गरी आयोगमा उजुरी प्राप्त भएकोले सो स्पष्ट गरी पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर ‘स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा तपाईं पर्शुराम नगरपालिकाको उपप्रमुखले उक्त नगरपालिकाभित्र कुनै पनि दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ। उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी कुनै दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन?’, स्पष्टीकरण पत्रमा भनिएको छ।
 

कमेन्ट लोड गर्नुस