सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेलुबाजेलाई २ हजार दिएर प्रचार गर्न लाएपछि थापालाई सोधियो स्पष्टीकरण

२०७९ मंसिर २, ०६:३५ खबर संवाददाता

काठमाडौंः निर्वाचन आयोगले प्यूठानमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ। मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएको प्रति आयोगको ध्यानाकर्षण भई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सीलिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन भन्ने व्यवस्था छ। 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने व्यवस्था छ।

स्पष्टीकरणमा भनिएको छ, ‘उपरोक्त बमोजिम निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले भेलुबाजेलाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले निज भेलुबाजेलाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ।'


 

कमेन्ट लोड गर्नुस