मुस्ताङबाट कांग्रेसको विजयी सुरुवात, २९ वर्षीय गौचनले जिते
काठमाडौँः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसले मुस्ताङमा विजयी जुलुस निकालेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली सोमबार निर्वाचित भएका हुन्। देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये मुस्ताङबाट पहिलो मतपरिणाम आएको हो। २९ वर्षीय गौचनले एमालेका पूर्वसांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।
सार्वजनिक मत परिणाम अनुसार गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन्। नवनिर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रोमी गौचन थकालीका छोरा हुन्।
२०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका छन्।
२०७४ मा मुस्ताङमा तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए। रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए। यसपटक योगेश कांग्रेस र माओवादी केन्द्र लगायत गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए।