आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा सोमबार गर्ने
काठमाडौं: निर्वाचन आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने बताएको छ। राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको जनाएको छ। प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५–५ सिटमा सांसद्हरुको नामावली बुझाएका छन्।