नवनियुक्त प्रधानमन्त्रीलाई छिमेकी देश भारत र चीनबाट बधाई तथा शुभकामना
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ छिमेकी देश भारत र चीनबाट बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासले देशका तर्फबाट बधाई दिएका हुन्।
नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन्। दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए।
चिनियाँ दूतावासका प्रवक्ताबाट पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ।