उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछाने सरकारमा
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन्। प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ।
सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन्। ‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,' लामिछानेले भने।
उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन्।