जसपाको बैठक आज बस्दैछ, सरकारमा जाने वा नजाने निर्णय गर्ने
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ। मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने पार्टीका मुद्धा र सरकारमा सहभागिता जनाउनेबारे निर्णय गर्ने हुनेछ।
जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन। शनिबारको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो। त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन्।