सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस सुदूरपश्चिम दलको नेताका लागि आज निर्वाचन

२०७९ पुष २०, ११:४३ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ। काँग्रेसको प्रदेश कार्यसमितिका अनुसार दलको नेता सर्वसम्मतिमा चयन गर्न नसकिएपछि बुधवार (आज) निर्वाचन हुने भएको हो। निर्वाचन प्रयोजनका लागि पाँच सदस्यीय  समिति गठन गरिएको छ। प्रदेश कार्यसमितिका  उप-सभापति लोकराज अवस्थी संयोजक, उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा काँग्रेस प्रदेश सदस्यहरु सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन्।  

नेपाली काँग्रेसका सात जना प्रदेश सभा सदस्यहरुले दलको नेताका लागि आकांक्षा देखाएका छन्। प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले काँग्रेस  संसदीय दलको नेतामा आकांक्षा देखाएका हुन्। उनीहरु बिचमा सहमति नभएपछि आज निर्वाचन हुने  काँग्रेस प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा)ले बताए।

सुदूरपश्चिममा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। काँग्रेस प्रदेश सभामा ठुलो दल हो। मंगलवारको बैठक निष्कर्ष विहीन भएको थियो।

कमेन्ट लोड गर्नुस