सुदूरपश्चिममा सभामुखको निर्वाचन स्थगित
धनगढीः सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन स्थगित गरिएको छ।
प्रदेशको सभामुखका लागि बिहीवार दिउसो १ बजेको समय निर्धारण गरिएको थियो। १ बजे निर्वाचनको प्रक्रिया सुरु हुन नसकेपछि २ः३० बाट निर्वाचनको प्रक्रिया सुरु भएकोमा फेरि स्थगित गरिएको हो। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले पद तथा गोपनियताको सपथ लिने भएपछि प्रदेशको सभामुखको निर्वाचन एक घण्टाका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले बताएको छ। मुख्यमन्त्री रालव सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा छन्।
नागरिक उन्मुक्ति पार्टीको समर्थतमा एमाले दलको नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएपनि सभामुखको निर्वाचनमा भने नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेश सभा सदस्यको सहभागिता छैन्। सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिका तीन जनाको मात्र प्रदेश सभामा सहभागिता रहेको हो।
सुदूरपश्चिमको सभामुखका लागि माओवादी र काँग्रेसका प्रदेश सभा सदस्यले मनोनयन दर्ता गराएका थिए। यी दुबैका लागि निर्णायक पार्टीे नागरिक उन्मुक्ति भएको छ।
नागरिक उन्मुक्तिको सहयोग बिना भण्डारीलाई एमालेका १० र माओवादीका ११ तथा राप्रपाको एक जना प्रदेश सभा सदस्य गरी २२ सांसदको साथ रहनेछ। काँग्रेसका उम्मेदवार मानबहादुर रावलका पक्षमा कांग्रेसका १९ तथा समाजवादीका ४ गरी २३ जना सांसदको समर्थन देखिएको छ। सत्ता गठबन्धनका दलहरु नागरिक उन्मुक्तिलाई आफ्नो पक्षमा पार्न केन्द्रित छन्।
प्रदेशको सभामुखका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ।