सुदूरपश्चिममा ‘पावर शेयरिङ’को छलफल गर्न नागरिक उन्मुक्तिका सांसद कारागारमा
धनगढीः नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु कारागार पुगेका छन्। उनीहरु पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल गर्न डिल्लीबजार कारागार पुगेका हुन्। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफलका लागि उनीहरु कारागार पुगेका हुन।
नागरिक उन्मुक्ति पार्टीले आज (मंगलवार) निर्णय गर्ने भएको हो। सुदूपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु छन्। नागरिक उन्मुक्तिका एक नेताका अनुसार रेशम चौधरीसँग प्रदेश सभा सदस्यहरुले ‘पावर शेयरिङ’का विषयमा छलफल गर्ने भएका हुन्। गत माघ २७ गते नियुक्त भएका सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नागरिक उन्मुक्ति पार्टीले निर्णय गर्न नसकेकाले मुख्यमन्त्री रावल संकटमा छन्।
सुदूरपश्चिममा माओवादीका सभामुख बाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यहरुले सरकारलाई समर्थन गरेका छन्। एमालेका मुख्यमन्त्रीसहित अन्य एक मन्त्री, माओवादीका एक मन्त्री नियुक्त भएका छन्। बाँकी मन्त्रालेको भागबण्डा गर्न बाँकी छ।
माओवादी र नागरिक उन्मुक्तिले ३/३ मन्त्रालय दाबी गर्दै आएको छ। तर, दुबैलाई २/२ मन्त्रालय र नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुखसमेत दिने तयारी थालिएको छ।