मधेसी मोर्चा बनाउन लोसपाले थाल्यो पहल
काठमाडौँः महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले मधेस केन्द्रित दलहरूको बीचमा सहकार्य गर्न मधेसी मोर्चा बनाउनका लागि पहल थालेको छ।
सडक र सदनमा संगठित रुमपा मधेसको पक्षमा आवाज उठाउनका लागि मोर्चाको आवश्यकता महसुस गर्दै लोसपाले त्यसको पहल थालिएको बताइएको छ। लोसपाको पदाधिकारी बैठकले गठबन्धन वा मोर्चा बनाउने जिम्मेवारी पार्टी अध्यक्ष ठाकुरलाई दिएको हो। लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले यसअघि मधेस आन्दोलनलगायत विभिन्न संघर्षका लागि मधेसी मोर्चाले काम गरेकाले पुनः त्यस्तै मोर्चाको आवश्यकता आएको बताए।
उनले मधेसवादी शक्तिहरू संगठित नभएको कारणले मधेसका मुद्दाहरू कमजोर हुँदै गइरहेको बताए। मधेसका मुद्दालाई व्यवस्थित ढंगबाट उठाउन गर्न दलहरू संगठित हुनुपर्ने र त्यसको पहलकदमी आफ्नो पार्टीले लिने उनले बताए। उनले भने, ‘मधेसमा अहिले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी क्रियाशील छन्।
यी चारै दललाई एक ठाउँमा ल्याउने हाम्रो प्रयास हुनेछ ।’जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग प्रारम्भिक छलफल भएको र जसपासँग अध्यक्ष ठाकुरलाई कुरा गर्ने जिम्मेवारी दिएको उनले बताए । उनले यसमा जनमत र उन्मुक्ति पार्टी सकारात्मक रहेको पनि बताए। उनले सुरुमा सहकार्य गरेर सँगै काम गर्ने र वातावरण, तालमेल मिल्दै गएपछि एकताको लागि पनि सोच्न सकिने बताए।
जसपा, लोसपा, जनमत र उन्मुक्ति पार्टी प्रदेशदेखि संघसम्म संसदमा छन् ।