सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाका नेताहरु फेरि एकै ठाउँमा

२०७९ माघ २६, ०३:५२ खबर संवाददाता

काठमाडौंः  विवेकशील साझा पार्टीको पहिलो महाअधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।

तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक प्रस्ताव ल्याएपछि पार्टी छाडेका नेताहरू पनि महाधिवेशनको पूर्वसन्ध्यामा विवेकशील साझामै सक्रिय भएका छन्। मिश्रले साउन २०७८ मा संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि तत्कालीन संयोजक मिलन पाण्डेसँगै नेताहरू केशव दाहाल, रञ्जु दर्शना, रमेश पौडेल लगायतले पार्टी छाडेका थिए।

११ जेठ २०७९ मा विवेकशील साझाको अध्यक्ष छाडेका मिश्र १२ असोजमा राप्रपा प्रवेश गरे। ४ मंंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदको चौथो दल बन्दा विवेकशील साझाले भने समानुपातिकमा मुश्किलले ४ हजार मत पायो। विवेकशील साझा छाडेर स्वतन्त्र रूपमा चुनाव लडेकी रञ्जु दर्शना र साझा पार्टीबाट लडेका मिलन पाण्डे पनि पराजित भए।

चुनावको निराशाजनक परिणाम र ‘विचारभन्दा माथि देश’को प्रस्ताव खारेज गर्ने पार्टी निर्णयपछि नेताहरूबीच फेरि सम्वाद सुरु भएको हो। र, महाधिवेशनको पूर्वसन्ध्यामा रवीन्द्र मिश्रको प्रस्तावकै कारण पार्टी छाडेका नेताहरू एकठाउँमा आएका छन्। पाण्डे भन्छन्, ‘जुन दस्तावेजका कारण वैचारिक विमति थियो, त्यसलाई घातक भनेर खारेज गरेपछि एक ठाउँमा नबस्नुपर्ने केही थिएन।’अहिले आफूहरू पार्टी महाधिवेशनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रूप दिन जुटेको उनले सुनाए। नेतृत्व भने सहमतिमा चयन गर्ने भनिएको छ । दस्तावेज लेखन र निर्वाचनको जिम्मा पाएका नेता केशव दाहाल नेतृत्वमा आफ्नो दाबी नरहेको बताउँछन्।

यद्यपि, पार्टी अध्यक्ष समीक्षा बास्कोटा र पूर्वसंयोजक मिलन पाण्डेमध्ये एकजना नेतृत्वमा आउने संभावना रहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस