सत्ता गठबन्धन फेरिने संकेत
काठमाडौँः पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन्।
सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने नेताहरूका अभिव्यक्ति र केही घटनाक्रमले समेत संकेत गरेका छन्। राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमति हुनुपर्ने अडान लिएका छन्। विगतका राष्ट्रपतिका अनुभवहरूलाई समेत नजिर बनाउँदै प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताहरूको दाबी रहने गरेको छ। तर, प्रचण्डले गत पुस २६ मा संसदबाट विश्वासको मत लिने क्रममा सत्ता साझेदार दलसहित नेपाली कांग्रेसको समेत मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउन थालेका हुन्।
सबै दललाई मान्ने हुने गरी एमाले आफैले राष्ट्रपतिको नाम प्रस्ताव गरेपनि स्वीकार हुने प्रधानमन्त्री प्रचण्डको भनाई छर्। यद्यपि राष्ट्रपतिका विषयमा ठोस छलफल र निष्कर्षमा पुगिएको छैन । प्रधानमन्त्रीज्यू राष्ट्रपतिमा राष्ट्रिय सहमति नै कायम हुनुपर्छ भन्नेमा अडानमा यथावत् हुनुहुन्छ’ माओवादी केन्द्रका एक मन्त्री भन्छन्, ‘राप्रपाका मन्त्रीले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिइरहेका छन्।
रास्वपा सरकारबाट बाहिरिएर अप्ठ्यारो पारेको छ। त्यसैमा केपी कमरेडको निरन्तर असहयोग भएकाले यो गठबन्धन ८० प्रतिशत फेरिने सम्भावना छ।’एमाले अध्यक्ष ओलीले सभामुखमा जस्तो खालको पात्र र प्रवृत्तिलाई अघि सारे राष्ट्रपतिमा समेत त्यस्तै दोहोरिने सङ्केत पाएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिमार्फत अघि बढ्न खोजेको ती मन्त्रीको भनाइ छ।
‘संसदमा कसैको बहुमत छैन। यो संसद् ५ वर्ष पुग्छ भन्ने सुनिश्चितता छैन’ ती मन्त्रीले भने, ‘देश, जनता र व्यवस्थालाई केन्द्रमा राख्ने व्यक्ति चाहिन्छ। विगतका राष्ट्रपतिले पार्टीलाई केन्द्रमा राखेकाले समस्या खडा भयो। त्यसैले जुनसुकै पार्टी वा पात्र भएपनि सबै दललाई मान्य भएमा ठिक हुन्छ भन्ने छ।’