संगठनलाई गतिशिल बनाउन नेपाली कांग्रेस सुदूरपश्चिमका ७३४ वडासम्मै पुग्ने
धनगढीः गाउँ–टोलसम्म फैलिएको नेपाली कांग्रेसको संगठनलाई गतिशिल र सुदृढीकरण गर्न सुदूरपश्चिममा विशेष अभियान सञ्चालन हुने भएको छ। कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले ९ जिल्लाका ८८ वटै स्थानीय तहका ७ सय ३४ वडामा अभियान सञ्चालनको घोषणा गरेको हो।
सो अभियान सफल बनाउन सुदूरपश्चिमका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको छ। प्रदेशका ८८ वटा पालिका अन्तर्गतका वडा तह सम्मका संगठनलाई क्रियाशिल बनाउन प्रदेश सभापति वीरबहादुर बलायरको प्रस्तावमा कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो।
बलायरको नेतृत्वमा वडा तह सम्मका संगठनलाई चलायमान बनाउनका लागि प्रदेशभर पार्टीको संगठन सुदृढीकरण अभियान सञ्चालन हुनेछ। उक्त अभियानलाई सफल बनाउन प्रदेशका सबै ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधि खटाएको छ।
चैत महिनाभर चल्ने उक्त अभियानका संलग्न प्रतिनिधिहरुले जिल्ला कार्य समिति सँगको समन्वयमा काम गर्ने गरी प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको हो। खटाएको प्रदेशसभा निर्वाचन क्षेत्र भित्र संगठनलाई चलायमान बनाउन विभिन्न रचनात्मक क्रियाकलाप गर्न जिल्ला कार्यसमितिसँग समन्वय र सहजीकरण गर्ने जिम्मेवारी समेत प्रदेशबाट खटाएका प्रतिनिधिलाई दिइएको छ।
कार्यसमितिसँग समन्वय गरी वडादेखि क्षेत्र सम्मका विभिन्न गतिविधिका साथै सम्मेलनमा सहभागी भई संगठनलाई चलायमान बनाउन भूमिका निर्वाह गर्न समेत भनिएको छ। अभियानका लागि प्रदेशबाट खटिएका प्रतिनिधिलाई संगठनको अवस्थाको बारेमा विस्तृत जानकारी सहितको प्रतिवेदन तयार गरी चैत्र मसान्त भित्र प्रदेश कार्यसमितिमा पेश गर्ने समय सीमा तोकिएको छ।