सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका २३ क्याम्पसमा निर्वाचन स्थगित, कुनकुनमा भएन निर्वाचन?

२०७९ चैत्र ५, ०१:३८ खबर संवाददाता

धनगढीः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको  मतदान भइरहेको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै समयमा आज बिहान ८ बजेदेखि मतदान शुरु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका १०, कञ्चनपुरमा ६, डोटीमा ३, अछाममा २, बाजुरा एक, डडेल्धुरा १  बझाङ ९ र दार्चुलाका ४ क्याम्पसमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक उपस्थितिमा मतदान भइरहेको हो।
कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो।

सुदूरपश्चिम प्रदेशमा त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतका २३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। चुनाव स्थगित हुनेमा अछाम ५, कैलाली २, बैतडी २, कञ्चनपुर ९, डोटी १, दार्चुला १, बझाङ १ र बाजुरा २ क्याम्पस रहेका छन्।
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय रहेको छ।

सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी संख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा संघ संगठन र दुई स्वतन्त्र उम्मेदवार छन्। घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले बिहान ८ बजेदेखि नै शान्तपूर्ण वातावरणमा मतदान भइरहेको बताए। उक्त क्याम्पसमा ५ वटा बुथबाट दुई हजार २४७ जना मतदाताले मतदान गरिरहेका छन्।

उक्त क्याम्पसमा १९ सदस्य स्ववियु समितिका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतदान कार्य भइरहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि केन्द्रिय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितका सदस्य सचिव पशुपति अधिकारीले ६१ आंगिक क्याम्पस र पाँच सय बढी सामुदायिक क्याम्पसमा उत्साहपूर्ण उपस्थितिमा मतदान भइरहेको बताए।

कमेन्ट लोड गर्नुस