कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ४ मा क्रान्तिकारीको कब्जा, नेविसंघ निल
धनगढीः कैलालीमा आइतवार स्ववियु निर्वाचन भएका त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ वटै क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणामअनुसार कैलालीका ५ क्याम्पसको स्ववियु नेतृत्वमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र ४ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले कब्जा जमाएका छन्। नेविसंघ भने कैलालीमा निल भएको छ।
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र बुलबुले बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व अनेरास्ववियुले जितेको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताए। ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुबेर खड्का दोब्बर मतान्तरले विजयी भएका छन्। खड्काले ८१४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेविसंघका मशेहराज जोशीले ४२९ मत पाएका छन्।
सचिवमा अनेरास्ववियुकै दीपेन्द्र भट्ट विजयी भएका छन्। मसुरियाको खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुष्करराज अवस्थी ११७ मतसहित विजयी भएका छन् भने बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै पुष्पा खाती विजयी भएकी छन्। नेविसंघका कुशल भुललाई पराजित गर्दै खाती विजयी भएकी हुन्। खातीले ५२ मत प्राप्त गर्दै जित हात पार्दा भुलले ४९ मत प्राप्त गरेका हुन्। चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा १६१ मतसहित विजयी भएका छन्।
सत्तारुढ दल निकट संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाए। लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना विजयी भएकी छन्। तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेविसंघका भावेस उपाध्यायले १०८ मत पाएका छन्। अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा जितेको प्रदेश कमिटि प्रमुख सचिव डम्बर भट्टराईले बताएका छन्।
उनका अनुसार सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम १५३ मतसहित विजयी भएका छन्। गौतमका प्रतिद्वन्द्वी नेविसंघका कर्णबिर कठायतले १११ मत प्राप्त गरेका छन्। महुन्याल बहुमुखी क्याम्पसमा २५ मतसहित अर्जुन खत्री विजयी भए। उनका प्रतिद्धन्द्धी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाएका छन्। रघुनाथ बहुमुखी क्याम्पसमा विप्लव निटक क्रान्तिकारी र नागरिक उन्मुक्तिको विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनिता चौधरी विजयी भएकी छन्।
त्यस्तै सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा प्रेमबहादुर बोगटी विजयी भएका छन्। माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) उम्मेदवार बोगटी ४९८ मतसहित विजयी भएका हुन्। स्वतन्त्र उम्मेदवार विनोद चौधरीले २६७ मत पाएका छन्। सचिवमा अनेरास्ववियू (एस)का उम्मेदवार हुकुम आचार्य विजयी भएका छन्।
उनले ४९८ मत पाएका हुन्। स्वतन्त्र उम्मेदवार पुष्प रिजालले २५३ मत पाए। कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी हेलन विनाडी विजयी भएकी छन्। उनले ६०२ मत पाइन। अनेरास्ववियू की मनीषा खनालले ३८१ पाइन्। कुल दुई हजार दुई सय ४७ मतदाता रहेकोमा एक हजार तीन सय ९६ मत खसेको थियो।