सुदूरपश्चिम प्रदेशको नेतृत्व, किन भएन सम्मानजनक सहभागिता?
धनगढीः सुदूरपश्चिम प्रदेशमा हालको गठबन्धनबाट विश्वासको मत पाएर कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन। भर्खरै मुख्यमन्त्रीमा विश्वासको मत दिएकाले नेतृत्व परिवर्तनभन्दा पनि सरकारमा सम्मानजनक सहभागिताका लागि छलफल गर्ने माओवादीका एक प्रदेश सांसदले बताए।
‘सुदूरपश्चिममा अहिले सरकार परिवर्तन ग¥यो भने अस्थिरताको सबैभन्दा ठूलो सन्देश जान्छ, त्यसैले बरु आलोपालो गरेर सरकारको नेतृत्व गर्नु उचित हुन्छ,’ उनले भने। सुदूरपश्चिममा पुस १० मा बनेको गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री थिए। उनले विश्वासको मत पाउन नसकेपछि माघ २६ मा एकीकृत समाजवादीको समर्थनमा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
उनलाई एकीकृत समाजवादीसहित माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिएका थिए। गठबन्धन दलहरूले भने प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डाको तयारी गरेका छन। राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा भएको सहमतिअनुसार संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारको नेतृत्वमा समुचित बाँडफाँट हुने बताए।
प्रदेशमा कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्याकेजमै छलफल हुने बुझिएको छ। सत्ता गठबन्धनका प्रमुख दलहरू मन्त्रालय भागबन्डाको औपचारिक छलफलमा जुटेका छन। कुन दलले कति मन्त्रालय पाउने र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा बुधबार गठबन्धनका प्रमुख चार दलका शीर्ष नेताबीच छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले जनाएका छन।
नेताहरूका अनुसार कुन दलले कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्नेमा पनि गृहकार्य भइरहेको छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा सरकारको कार्यसम्पादन भने प्रभावित भएको छ। अहिले मुख्यमन्त्री शाहको जिम्मेवारीमा ४ मन्त्रालय छन। आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकासमन्त्रीबाहेक चार मन्त्रालय अहिले पनि नेतृत्वविहिनको अवस्थामा छन्।