सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् पुनर्गठन गरे पनि मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेन

२०७९ चैत्र १७, ०४:२५ खबर संवाददाता

काठमाडौंः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी (जसपा) बाट १–१ जनालाई मन्त्री नियुक्त गरेका छन्।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएकी छन्। जनता समाजवादी पार्टी (जसपा)का अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भएका छन्।

यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले शुक्रबार पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि मन्त्रिपरिषदले अझै पूर्णता भने पाउन सकेको छैन।

कमेन्ट लोड गर्नुस