फरार सांसद कोइरीविरुद्घ निलम्बनको प्रक्रिया अघि बढ्ने
धनगढीः प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रहरी प्रधान कार्यालयले संघीय संसद सचिवालयलाई जानकारी गराएको छ।
आइतवार नै संसद सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको हो। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी बिरामी भएको भन्दै बिदाको प्रस्ताव गरेका थिए। तर, सत्तारुढ दलका सांसदले आपत्ति जनाएपछि उनी फरार सूचीमा रहेकोबारे नयाँ नियमावली बनेपछि जानकारी नआएको घिमिरेले बताएका थिए।
यसअघि पुस ७ गते पनि कोइरीको बारेमा प्रहरीले संसदलाई पत्राचार गरेको थियो। शपथ नै रोक्नुपर्ने भन्दै प्रहरीले संसदलाई पत्र लेखेको भए पनि त्यतिबेला उनलाई शपथमा रोकटोक भएन। प्रहरीले कोइरी फरार रहेको जानकारी गराएपछि अब निलम्बनको प्रक्रिया सुरु हुने संसद सचिवालयले जनाएको छ।
२०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग लागेका कोइरी फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए।