सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा

२०८० जेठ २४, ०९:४२ खबर संवाददाता

काठमाडौँः  नेकपा एमालेका नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गरेका छन्।

पार्टीमा हाल पत्र लेखेर बिदामा बसेका थापाले नेकपामा प्रवेश गर्न छलफल सुरु गरेका हुन्। एमाले स्थायी समिति सदस्य समेत रहेका थापा आफ्ना पुराना सहकर्मी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने योजनामा रहेको बताइएको छ। थापा केही समयअघि कम्युनिस्ट विचार बोक्ने कलाकर्मीहरूले आयोजना गरेको राष्ट्रका लागि सङ्गीत अभियानमा सहभागी देशभर घुमेका थिए।

त्यो अवधिमा उनी एमालेका बैठकमा सहभागी नभई पूर्ण रूपमा निष्क्रिय भई बसेर सांस्कृतिक कार्यक्रममा मात्रै सहभागी भएका थिए। सांस्कृतिक कार्यक्रम सकिएपछि उनले पार्टीलाई पत्र लेखेर बिदामा बसेको जानकारी गराएका थिए। त्यसपछि थापालाई पार्टीले कुनै जिम्मेवारी नदिई स्थायी समितिमा मात्रै राखेको छ।

‘हाम्रो पार्टीमा प्रवेश गर्न जिएसले छलफल गरी राखेको छ। उहाँ (मणि थापा) पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ’ विप्लव नेतृत्वको नेकपा एक नेताले भने, ‘कुन जिम्मेवारी दिने र कहिले प्रवेश गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन।’ 

कमेन्ट लोड गर्नुस