सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ को नियति: मुटुको भल्व फेरेका विरामीलाई रक्त परीक्षणको व्यवस्था पनि छैन (भिडियो सहित)

२०७५ वैशाख १०, ०७:००

प्रदेश नम्वर ७ का कुनै पनि सरकारी अस्पतालमा मुटुको भल्व फेरेकाहरुलाई रक्त परीक्षणको व्यवस्था नहुँदा विरामीको विचल्ली भएको छ । मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरूले नियमित गर्नुपर्ने रक्त परीक्षणका लागि प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा व्यवस्था नभएपछि विरामीहरुको विचल्ली भएको हो । घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगे पूर्ण रुपमा फेर्नुपर्ने हुन्छ ।
तर सरकारी अस्पतालमा भल्व फेरेका विरामीहरुले रक्त परिक्षण गर्ने उपकरण नभएपछि निजी अस्पतालमा महङगो शुल्क तिरेर रक्त परिक्षण गर्नुपर्ने बाध्यता रहेको छ । उनिहरुले कम्तीमा अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टर र जिल्ला अस्पतालमा रक्त परिक्षणका लागि उपकरण राख्ने व्यवस्था गरिदिन माग गरेका छन् । 
मुटुको भल्व फेरेका बिरामीहरूले नियमित रक्त परीक्षण गरी रगतको सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।

यस्ता बिरामीहरूका लागि बाचुञ्जेल रगत नजम्ने औषधि चलाइएको हुन्छ तर प्रदेश नम्वर ७ का जिल्ला अस्पतालदेखि अञ्चल र उप–क्षेत्रीय अस्पतालमा समेत रक्त परिक्षण गर्ने पिटी आईएनआरको व्यवस्था नभएप िछ विरामीहरुको विचल्ली भएको मुटुको भल्व फेरेका डोटीका धर्मसिह धामीले बताए । 
मुटुको शल्यक्रिया गरि भल्व फेरेका अधिकांस विरामीहरुले एक हप्तामै रक्त परिक्षण गर्नुपर्छ भने कतिपयले महिना दिनमा गर्दा पनि हुन्छ ।

सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था नहुँदा प्रदेश नम्वर ७ का विरामीले प्रत्येक महिला कैलालीको अत्तरीयामा हुने माषिक शिवीरका लागि पर्खीनुपर्ने हुन्छ  । काठमाडांैस्थित गंगालाल हृदय रोग केन्द्रका शल्य चिकित्सकहरूको पहलमा मुटुको भल्व फेरेका यस क्षेत्रका बिरामीहरूलाई लक्षित गरी अत्तरियामा हरेक महिनाको १० गते ७ सयमा रक्त परीक्षण शिविर सञ्चालन हुदै आएको छ ।

तर हप्तामै गर्नुपर्ने रक्त परिक्षणका लागि महिना दिन सम्म कुर्नु पर्ने र प्रत्येक महिना ७ सय रकम रक्त परिक्षणका लागि आर्थिक जोहो गर्न नसक्दा धेरै भल्व फेरेका विरामीले अकालमै ज्यान गुमाईरहेका छन् । सरकारी निकायसंग प्रदेश नम्वर ७ का कति बिरामीको भल्व फेरिएको छ भन्ने तथ्याङ्क नभएपनि झण्डै ५ सयको हाराहारीमा भल्व फेरका विरामी रहेको अनुमान गरिएको छ ।

उनिहरुलाई औषधिको मात्रा मिलाउन नियमित रक्त परीक्षण अनिवार्य हुन्छ । भल्व फेरेका बिरामीको रगत बाक्लो वा पातलो, दुबै अवस्था खतरा हुने भएकाले रक्त परिक्षणलाई अनिवार्य मानिएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार प्रायः गरी वाथ ज्वरोका कारण मुटुको भल्वमा क्षति पुग्ने गर्दछ । यस्ता बिरामीहरूले उपचार गर्नु पर्दा बिग्रिएका भल्व फेर्नु अनिवार्य हुने चिकित्सकहरू बताउँछन् ।

नियमित र अनिवार्य रुपमा गर्नुपर्ने रक्त परिक्षणको सुविधा नपाएपछि जसोतसो भल्व फेरेका विरामीहरु समस्यामा परेको मुटुको भल्व फेरेका कैलालीका ईन्द्रदेव जोशीले बताए । प्रदेश नम्वर ७ मा मुटुरोग जाँच गर्नका लागि आवश्यक पर्ने इसिजी, इको लगायतका उपकरण पनि उपलब्ध छैनन् । यि उपकरण भए, मुटुको वनावट, मुटुका भल्भहरुको अवस्था, मांसपेशीहरुको स्थिति, मुटु खुम्चिने र फुक्ने ठीक तवरले भए नभएको लगायतका रोगहरुको अवस्था पता लगाउन सकिन्छ ।

बाथ ज्वरोका कारण मुटुका भल्ब बिग्रिएका बिरामीको उपचार सरकारले निःशुल्क भनिसकेको छ तर भल्व फेरेर रक्त जाँचको सुविधा नपाउदा विरामीहरुले अकालमै ज्यान गुमाईरहेका छन् । यसतर्फ पनि सम्बन्धीत निकायले समयमै ध्यान पुगाउन जरुरी छ । यसैविच मुटुको भल्व फेरेका विरामीहरुले आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्दै ९ वटै जिल्ला अस्पतालमा रगत परिक्षणको व्यवस्था मिलाईदिन माग गरेका छन् ।

उनिहरुले सेती अञ्चल अस्पतालमा मुटु रोग विशेषज्ञ डाक्टरको माग पनि गरेका छन् । जवाफमा मुख्यमन्त्री भट्टले समास्या समाधानका लागि पहल गर्ने बताए । 

कमेन्ट लोड गर्नुस