नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर पनि मन्त्री बन्दै
धनगढीः सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका अर्का एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउने तयारी गरेका छन्।
नागरिक उन्मुक्तिकाअनुसार आज दिउँसो सोमवार प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ। नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने स्रोतको भनाइ छ।
मुख्यमन्त्री शाहले यसअघि शुक्रवार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए। नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्। लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्रीको संख्या ५ पुग्नेछ।
मुख्यमन्त्री शाहलाई समर्थन दिएका दुई दलले समर्थन फिर्ता लिएपछि आफ्नो पक्षमा बहुमत पु¥याउन सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई उनले थप मन्त्रालय दिएका हुन्। नाउपाका सांसदलाई एकपछि अर्को मन्त्री नियुक्त गरिरहेका शाहले मन्त्रालय फुटाएर भएपनि जोशी र विष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन्।