सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाउपाभित्रको विवाद उत्कर्समा, लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने जोखिम

२०८० फाल्गुन ३०, ११:०८ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति (नाउपा) भित्रको आन्तरिक विवाद उत्कर्समा पुगेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीका कारण आन्तरिक विवाद उत्कर्समा पुगेको हो। विशेष गरी सुदूरपश्चिम प्रदेश सरकारमा आफ्ना सांसदहरु पठाउने नपठाउने विषयमा अध्यक्ष र संरक्षकबिच बढेको विवाद यतिबेला सतहमा आएको छ। नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अध्यक्ष श्रेष्ठको तर्क छ भने काँग्रेसलाई साथ दिनुपर्ने पार्टी संरक्षक चौधरीको अडान छ।

नातामा पार्टी अध्यक्ष रञ्जिता र संरक्षक चौधरी श्रीमान/श्रीमती हुन्। तर दुबैका कुरा मिल्न छोडेपछि पार्टी नै टुटफुटको अवस्थामा पुग्ने चर्चा हुन थालेको छ। मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री बनेकाहरुलाई तत्काल फिर्ता हुन अध्यक्ष श्रेष्ठले दिएको निर्देशन मन्त्री बनेकाहरुले अहिलेसम्म टेरेका छैनन्। साथै तत्काल फिर्ता नभए कारबाही गर्ने अध्यक्षको निर्देशनको पनि पालना भएको छैन्।

मन्त्री बनेकाहरु तत्काल फिर्ता हुनुभन्दा थप एक जना मन्त्री बनेका छन्। पार्टी संरक्षक चौधरीले आफ्ना सांसदहरुलाई सरकारमा पठाउने अनि पार्टी अध्यक्षले फिर्ता आउन निर्देशन दिने अवस्थाको सिर्जना भएको छ। यस्तो अवस्थामा लोग्नेस्वास्नीकै कारण पार्टी डुब्ने जोखिम पनि बढेर गएको छ। सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक विवादको भूमरीमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बुधबार लामो फेसबुक स्ट्याटस नै लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा राखेका छन्।

यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता छिन्। तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन्। ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्।

मलाई चिन्ता यसैमा छ। तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ।’ ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ,’ उनले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ।

अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ।’ रेशमले दोहो¥याएर भनेका छन्, ‘कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडि नलागौं। नागरिक उन्मुक्ति पार्टी कांग्रेस÷कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरुप चलौं।’

उनले अगाडी लेखेका छन, ‘कुरो रहृयो बुढाबुढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमले लेखेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन्। अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि।

अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकि हौ।’ ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

कमेन्ट लोड गर्नुस