केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन्: मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन्।
पर्वतको लुंखुदेउरालीमा आज आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए। उनले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ÷दश महिनामा धेरै कुरा परिवर्तन हुने बताए।
उनले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गरे। गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानुन र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानुन यो सरकारले ल्याउने दाबी गरे।
अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उनले बताए। विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारणमुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उनको भनाइ छ। मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी पनि गरे।