सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्ति पार्टीभित्र कसरी एक्लिइन् अध्यक्ष रञ्जिता?

२०८० चैत्र १८, ०९:५६ खबर संवाददाता

धनगढीः यतिबेला नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीका कारण पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो। उसो त अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी श्रीमान/श्रीमती हुन्। कतिपयले नागरिक उन्मुक्तिलाई श्रीमान÷श्रीमतीको पार्टी समेत भन्ने गरेका छन्। केन्द्रमा तत्कालिन सत्ता गठबन्धन भत्केर नयाँ बनेसँगै नागरिक उन्मुक्ति दुई कित्तामा उभिन पुगेको छ।

नयाँ सत्ता गठबन्धनलाई साथ दिनुपर्ने अडान अध्यक्ष रञ्जिताको छ भने काँग्रेसलाई साथ दिनुपर्ने अडान संरक्षक चौधरीको छ। केन्द्रमा अध्यक्ष श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई साथ दिँदै विस्वासको मत दिएकी छन भने यता सुदूरपश्चिम प्रदेशमा संरक्षक चौधरीको लाइनमा एक राज्यमन्त्रीसहित पाँच जना नागरिक उन्मुक्तिबाट मन्त्री बनिसकेका छन्। सो पार्टीका ७ प्रदेश सभा सदस्यमध्ये मन्त्री पद पाउन दुई जना मात्र बाँकी छन्। 
विवादको चुरो
फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नेमै नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चुलिएको हो। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष श्रेष्ठले चैत्र १४ गते टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन्।

सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर सो निर्णयको पार्टीका एकथरी पक्षले विरोध जनाए। सुदूरपश्चिम संसदीय दलका नेताले मुख्यमन्त्री शाहलाइ दिएको समर्थन कायमै रहने भन्दै टीकापुर बैठकको निर्णयको प्रतिवाद नै गरे। त्यसको भोलिपल्ट बिहीबार नागरिक उन्मुक्तिका दुई विनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो।
अध्यक्षले दिएको निर्देशन काम लागेन
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षले सुदूरपश्चिम सरकारमा जिम्मेवारी लिएको देखेपछि शुक्रबार प्रदेश सरकारबाट फिर्ता हुनु भन्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन नै जारी गरिन्। फिर्ता नभए कारबाही गर्ने चेतावनी समेत उनले दिइन्। उनले पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन्। तर उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन्।

श्रीमान् र श्रीमती रहेका रेशम चौधरी र रञ्जितालाई मिलाउन नेता पण्डितले टीकापुर बैठकबाट आफूले रञ्जितालाई साथ दिएको र निर्णयमा सहयोग गरेको बताएका छन्। तर आफूले उनीहरूलाई मिलाउन नसकेको भन्दै सो निर्णयबाटपछि हटेको पण्डितले बताए। टीकापुर बैठकमा १२ जना संस्थापक सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागी पार्टी संस्थापक तथा सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी, अर्का संस्थापक लक्ष्यबहादुर चौधरीले यसअघि नै टीकापुर बैठकको निर्णयमा आफूहरूको सहमति नरहेको घोषणा गरिसकेका छन्। पण्डितले पनि सो निर्णयमा समर्थन नरहेको घोषणा गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पार्टीभित्र अल्पमतमा परेकी हुन्। नागरिक उन्मुक्तिका २१ जना केन्द्रीय संस्थापक सदस्य छन्। रेशम जापान भ्रमणबाट फर्किसकेका छन्। उनी शनिबार स्वदेश फिर्ता भएका हुन्।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन

dn

कमेन्ट लोड गर्नुस