सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ९३ मतदान केन्द्र तोकियो, पाँच उम्मेदवार मैदानमा

२०८० चैत्र २४, १२:०५ खबर संवाददाता

धनगढीः आगामी वैशाख १५ गते बझाङ प्रदेशसभा–१ मा हुने उप–निर्वाचनका लागि उम्मेदवारहरूले आज (शनिबार) मनोनयन पत्र दर्ता गर्दै छन्।

आज बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनुपर्ने छ। उप–निर्वाचनका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समेत तोकिएको हो। भोलि उम्मेदवारको सूची र २७ गते अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दल र उम्मेदवारले चुनावी अभियान थालिसकेका छन्। निर्वाचन आयोगले बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनका लागि मतदानस्थल पनि तोकेको छ। आयोगले बझाङमा प्रदेश सभा निर्वाचनका लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ। बझाङमा ६१ हजार ७ सय ४८ मतदाता रहेको पनि आयोगले जनाएको छ।

गत ५ असारमा सवारी दुर्घटनामा परी सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा कांग्रेसका सिंह विजयी भएका थिए। उप–निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। मुख्य प्रतिस्पर्धी दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका छन्।

कांग्रेसले गत चुनावमा निर्वाचित स्वर्गीय सिंहकै छोरा अभिषेक सिंहलाई उप–निर्वाचनमा उम्मेदवार बनाएको छ। त्यस्तै, एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रबाट जनकबहादुर बुढा उम्मेदवार बनेका छन् भने एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार बनेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरबहादुर खड्का उपनिर्वाचनमा भिड्दै छन्।

एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ। पार्टीको जिल्ला अध्यक्ष भएर एमाले हाँकिसकेका दिलबहादुर सिंह एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन्। उनी तत्कालीन नेकपा हुँदासमेत बझाङका जिल्ला अध्यक्ष थिए। त्यस्तै, माओवादीका प्रभावशाली मानिएका युवा नेता जनकबहादुर बुढालाई माओवादीले मैदानमा ल्याएको छ। बुढा संविधानसभा सदस्यसमेत हुन्। त्यस्तै, राप्रपाबाट उम्मेदवार पर्यटन व्यवसायमा लागेका किशोर खड्का पूर्वपत्रकार हुन्।

कमेन्ट लोड गर्नुस