प्रज्ञा प्रतिष्ठानलाई गीता ज्ञानको प्रचार-प्रसार गर्न आग्रह
धनगढीः गीता ज्ञानको प्रचार-प्रसार गर्न नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गरिएको छ। गीता ज्ञान प्रवर्द्धन गर्दै यसको व्यापक प्रचार-प्रसारसहित गीताको वैज्ञानिक, प्राज्ञिक र आध्यात्मिक मूल्य खोज्न क्रियाशील 'जीवनका लागि गीताज्ञान अभियान' प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गरेको हो।
अभियानका सङ्कल्पकर्ता डाक्टर हरिचन्द्र कमलीले जेठ २२ गते नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। अभियानका सङ्कल्पकर्ता डाक्टर कमलीले उक्त अभियानको घोषणापत्रसमेत कुलपति राईलाई हस्तान्तरण गरिएको हो।
गीता ज्ञानको बारेमा विभिन्न समयमा विविध दृष्टिकोण सहित अध्ययन अनुसन्धान हुँदै आएको र यसको विश्व प्राज्ञिक क्षेत्रमा विशेष पहिचान र महत्त्व रहेको सङ्कल्पकर्ता डाक्टर कमलीले बताए। उनले व्यक्ति ,समाज, राष्ट्र साथै र समग्र विश्वलाई नै मार्गदर्शन गर्न सक्ने हुँदा गीताको अझ अध्यन अनुसन्धान र विमर्शको हुनुपर्ने बताएl
डाक्टर कमलीले गीता ज्ञान प्रवर्द्धन गर्दै यसको व्यापक प्रचार-प्रसारसहित गीताको वैज्ञानिक, प्राज्ञिक र आध्यात्मिक मूल्य खोज्न 'गीता फर लाइफ अभियान' चलाएको बताएका छन्। अभियानको तर्फबाट गीता ज्ञानको व्यापक प्रचारप्रसार गरी राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रवर्द्धन गर्नको लागि प्रत्येक वर्ष अन्तराष्ट्रिय स्तरको गोष्ठी तथा सेमिनार आयोजना गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छl
पत्र हस्तान्तरण कार्यक्रममा अभियानका सङ्कल्पकर्ता कमलीले अभियानको औचित्यबारे प्रष्ट पार्दै, ध्यानाकर्षण पत्र वाचन गर्नु भएको थियो। अभियानको वरिष्ठ अभियान्ता कमला घिमिरेले कुलपति राईलाई उक्त पत्र हस्तान्तरण गरेकी थिइन्। उक्त टोलीमा सक्रिय अभियान्ता वेदप्रसाद उपाध्यायको पनि उपस्थिति थियो।
ध्यानाकर्षण पत्र ग्रहण पश्चात् कुलपति राईले गीता ज्ञानको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप नयाँ खोज र अनुसन्धानका लागि सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको कमलीले बताए।