उपसभामुख रानामगरविरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
काठमाडौँः उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्। उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ।
समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यस’दयगतमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए। उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्को कार्य व्यवस्था परामर्श समितिमा यस’दयगत सभामुखसँग छलफल गरेको उल्लेख गरे।
उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएपछि उनी विवादमा परेकी छन्।संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो दिन काठमाडौँस्थित अमेरिकी दुताबासलाई पत्र लेखेकी थिइन्।
यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेतृत्वले गत बैशाखमै थाह पाएर पनि सामसुम पारिएको खुलासा भएको छ।