सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारागार र बाल सुधार गृहको अवस्था सुधार्ने मन्त्रीहरूको प्रतिबद्धता

२०८१ साउन १३, ०३:२०

 काठमाडौंः सरकारले नेपालका कारागार र बाल सुधार गृहमा देखिएका समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कानून, न्याय तथा मानव अधिकार समितिको आईतवारको बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेश भएको थियो।

सोही प्रसंगमा बोल्दै गृहमन्त्री रमेश लेखक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कारागारमा रहेका समस्याहरु समाधान गर्ने बताएका हुन्। बैठकमा बोल्दै गृहमन्त्री लेखकले देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका भन्दै त्यसको व्यवस्थापनका लागि भौतिक संरचनामा सुधार गर्नु आवश्यक भएको बताए। उनले यसतर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिने बताए। उनले कारागारको सुरक्षा व्यवस्थापन, सवारी साधन, पुस्तकालय लगायतको व्यवस्थापनमा पनि जोड दिइने बताए।

उनले कारागारलाई सीप विकास केन्द्रको रुपमा विकास गर्नुपर्ने पनि बताए। उनले कारागार व्यवस्थापनका लागि तीन तहको सरकारकाबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले भने ‘अत्याधिक संख्यामा कैदी बन्दी रहने देशभरकै समस्या हो। यहाँहरुले जुन विषयहरु उठाउनुभएको छ, भौतिक संरचनाको कुरा उठाउनुभएको छ। भौतिक संरचनामा सुधार गर्न आवश्यक छ।

सिधा र दैनिक खर्च कम भयो भन्ने अर्को विषय यहाँहरुले उठाएकोे छ। यसमा पनि नेपाल सरकारको ध्यान गम्भीरतापूर्वक जान्छ। स्वास्थ्य र सरसफाईको कुरा उठाउनुभएको छ, भौतिक संरचना कमजोर छन्, कम छन्, ठाउँ कम छ, बढी संख्यामा कैदी, बन्दी राख्नुपरेको स्थिति छ। त्यसकारण स्वास्थ्य र सरसफाइको समस्या स्वतः उत्पन्न हुने नै भए।

यसलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फमा हामी काम गरौँला। सुरक्षा व्यवस्थापनको पनि कुरा उठाए। सुरक्षा व्यवस्थापनका विषयलाई ध्यान दिइनेछ।’गृहमन्त्री लेखकले बाल सुधार गृहमा पनि भौतिक संरचनाको अभाव रहेको भन्दै सरकारको ध्यानकर्षण भएको बताए। उनले अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सरकारले ध्यान दिने पनि बताए।

बैठकमा बोल्दै महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले कारागार र बाल सुधारगृहमा अमानवीय व्यवहार हुने गरेको बताए। उनले कारागारमा मानव अधिकारको उल्लङ्घन भएको बताए। उनले १८ वर्षभन्दा माथिकालाई बाल सुधार गृहमा राख्दा समस्या उत्पन्न हुने गरेको भन्दै कानून सुधार गरेर उनीहरुका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न प्रतिवद्ध रहेको बताए। उनले कारागारमा हुने समस्याहरुको बारेमा आफूहरुलाई जानकारी भएको भन्दै संविधानअनुरुप सुधार गर्नुपर्ने कुराहरु सुधार गर्ने बताए। उनले कानूनमा आवश्यक सुधारका लागि सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरेर सुधारको कामहरु अगाडि बढाइने बताए।
 

कमेन्ट लोड गर्नुस