वीरगञ्ज महानगरले तीन वटा उद्योगको गेटमा फोहोर थुपारेपछि...
वीरगञ्ज: वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ।
नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन्।
वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसालिदिएको बताए। ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ। तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने।
महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएको महानगरको आरोप छ। महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो। नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा आज पनि फोहोर फालिने बताए।