खाँदबारी कारागार प्रकरणः ५८ जना कैदीबन्दीसँग बयान लिइयो
काठमाण्डौः सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको ज्यान गएको घटनामा ५८ जना कैदीबन्दीसँग बयान लिइएको छ।
जिल्ला कारागार खाँदबारीमा गएको वर्ष साउन २४ गते दुई कैदीको कुटपिटपछि ज्यान गएको थियो। यो घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र बयान लिएको जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए।
खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा ज्यान गएको थियो। कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर शुरुमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देखिएको थियो। हत्यामा संलग्न भएको आरोपमा गएको भदौ २७ गते सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो। कुटपिटबाट मारिएका पीडित परिवारले राहत तथा क्षतिपूर्ति अहिलेसम्म पाएका छैनन्।