सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो 

२०८१ साउन १६, ०७:२४ खबर संवाददाता

काठमाडौँः मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ।

बुधवार आयोजित कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। निर्माण लागत ३ करोड ८८ लाख डलरमा तनहुँस्थित न्यू दमौली सबस्टेसन ठेक्का लागेको हो।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ३ वटै सबस्टेसनको निर्माण सम्झौता भएको हो। न्यू दमौली सबस्टेसनको क्षमता एक हजार मेगाभोल्ट एम्पिएर हुनेछ। निर्माण सकिएपछि रातामाटे र न्यू दमौली देशकै ठूलो सबस्टेसन हुने एमसीए नेपालले जनाएको छ।

रातामाटे सबस्टेसन निर्माणका लागि गत जुन महिनामा टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङसँग सम्झौता भएको थियो। न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहको लागि महत्वपूर्ण विन्दुको रुपमा काम गर्नेछ।
 

कमेन्ट लोड गर्नुस