श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कति पुग्यो ?
काठमाडौँः श्रमिकहरुको तलब बढेको छ। बिहीवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो।
अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ। यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो। प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो। आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो।
बुधवार साँझ सरकार, रोजगारदाता र श्रमिकबीच भएको सहमति अनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायतका प्रतिनिधिहरूसँगको छलफल र सुझावका आधारमा श्रम ऐन, २०७४ को दफा १०६ (१) बमोजिम सरकारले यो निर्णय गरेको हो।
यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ रहेको छ। यसमध्ये आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ छ। त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। यसमध्ये आधारभूत ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ।
आंशिक समय काम गर्ने कामदारको हकमा भने प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ तोकिएको छ। यो नयाँ पारिश्रमिक दर चिया बगानका श्रमिकहरूको हकमा भने लागू हुने छैन। उनीहरूको पारिश्रमिक निर्धारणका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी छुट्टै निर्णय गरिने निर्णयमा उल्लेख छ।