सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा कलेजो प्रत्यारोपण ओपिडी सेवा सुरु

। फोटो स्रोत ।
२०७६ साउन १२, ०५:०७

चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरले पहिलो पटक कलेजो प्रत्यारोपण ओपिडी सेवा सुरु गरेको छ। ’हेपाटाइटिस डे’का अवसरमा सिएमसीले कलेजोसम्बन्धी जटिल रोगको हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण ओपिडी सेवा सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले जानकारी दिए। डा. सागर पौडेलको नेतृत्वमा ५ सदस्यीय टोली यो सेवा दिने अस्पतालले बताएको छ। 

विदेशका तुलनामा नेपालमा कलेजो प्रत्यारोपण गर्दा खर्च कम हुने गरेको समेत उनले बताए। २० देखि २५ लाखमै कलेजो प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ। 
राजधानी बाहिर कलेजोसम्बन्धी रोगहरुका विषयमा उपचार गर्ने अस्पतालको अभाव सिएमसीले पूरा गर्ने दाबी उनको छ। यसका साथै मोफसलकै पहिलो कलेजो प्रत्यारोपण सेवा प्रवाह गर्ने पहिलो अस्पताल समेत सिएमसी भएको दाबी उनको छ।

सिएमसीले यसअघि नै कलेजो प्रत्यारोपणको स्वीकृति लिइसकेको थियो। कलेजो प्रत्यारोपण सेवालाई लक्षितगरी यससम्बन्धी ओपिडी सेवा सुरु गरिएको अस्पतालले पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराएको थियो। चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउने लक्ष्यका साथ यो सेवा संचालन गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दाबी गरे। 

कलेजले हेपाटाइटिस डेको अवसर पारेर आइतबार बिहान वाकाथनसमेत गरिएको थियो। सिएमसीबाट सुरु भएको वाकाथन चौबीसकोटी, मालपोतचोक, भरतपुर अस्पताल हुँदै दीपेन्द्रचोक निस्केर पुनः सिएमसी पुगेर समापन भएको थियो।

कमेन्ट लोड गर्नुस