सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा पुस्ताको सीप र ज्ञान सदुपयोग गरी समृद्धिको यात्रामा लाग्न पूर्वराष्ट्रपति भण्डारीको जोड

२०८२ असोज ३, ०१:५० रासस

काठमाडौँः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवयुवा र युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताइन। 

संविधान दिवसको अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान  फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको उल्लेख छ। 

यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत अर्पण गर्नुभएको छ। साथै गत भदौ २३ गते नयाँ पुस्ताका युवा विद्यार्थीहरुले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाको माग रोखर गरेको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाउने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन। अब देश हाँक्ने जिम्मेवारी नवयुवा र युवा पुस्तासँग रहेको छ।

युवाहरुमा रहेको जाँगर, ऊर्जा, सिर्जनशीलता, ज्ञान र सीपलाई सदुपयोग गरी समृद्धिको यात्रामा लगाउनु अहिलेको आवश्यकता हो। युवाहरुको माग, दबाव र स्वाभाविक आक्रोशलाई सकारात्मक रुपमा ग्रहण गरी स्वयं युवा, देश र जनताको हितमा सदुपयोग गर्न सक्नु सबैको दायित्व हो”, पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ।

मुलुकलाई राजनीतिक अस्थिरता र अन्यौलतातर्फ धकेलिन नदिनका लागि मिहेनत गर्नुपर्ने उत्तिकै जिम्मेवारी राजनीतिक दलहरुको पनि रहेको उल्लेख गर्दै उनले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता अटल राख्न सबै जिम्मेवार पक्षहरुको परिस्थितिको सूक्ष्म विश्लेषण पक्षपोषक र राष्ट्रियता प्रवद्र्धक भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि सही निर्णय लिन चुक्नु हुँदैन भनिन्। वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाती राख्दै, मनोमालिन्यता र तीक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिइन।  

कमेन्ट लोड गर्नुस