प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने
काठमाडौँ : ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ।
नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए।
‘जेनजी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए। “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनाँै”, उनले भने, “देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ। आर्थिक समृद्धिलाई साझा सङ्कल्प बनाउन सबैलाई हाम्रो आग्रह छ।”
स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ।
“बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ। पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्नुपर्छ”, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, “छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ।”