अलैँची निर्यातमा ३३ प्रतिशत वृद्धि, भाउ प्रतिमन रु एक लाख नाघ्यो
झापा: नेपालको प्रमुख नगदे बाली मानिने अलैँचीको मूल्य यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार आज प्रतिमन (४० केजी) ‘जेजे’ गुणस्तरको अलैँची रु एक लाखमा किसानबाट खरिद भइरहेको छ। ‘चालू’ गुणस्तरको अलैँची भने रु ९७ हजार प्रतिमनका दरले कारोबार भइरहेको छ।
गत मङ्गलबार ‘जेजे’ अलैँचीको मूल्य रु एक लाख दुई हजार पुगेर यो वर्षको सबैभन्दा उच्च दरमा पुगेको थियो। त्यसयता आज प्रतिमन रु दुई हजारका दरले मूल्य घटेको छ। अध्यक्ष नेपालका अनुसार, “अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र अलिक ओरालो लागेको हो।” अहिले औलो क्षेत्रको अलैँची बजारमा आइपुगेको छ भने लेकाली क्षेत्रको अलैँची भर्खरै भट्टीमा लगाउन सुरु भएको छ।
उच्च बजार मूल्यका कारण अलैँचीलाई ‘खोल्साको सुन’ भनेर पनि चिनिन्छ। पूर्वी पहाडका किसानहरू बढ्दो मूल्यले प्रत्यक्ष लाभान्वित भएका छन्। नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे तापनि पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा बढी उत्पादन हुने गरेको छ।
नेपालमा उत्पादित अलैँचीमध्ये ९० प्रतिशत निर्यात हुने गर्छ। नेपालबाट भारत पुगेको अलैँची त्यहाँ ‘ब्रान्डिङ’ भएर विश्वबजारमा पुग्ने गरे पनि नेपाली अलैँचीले सोझो पहुँच अझै पाउन सकेको छैन।
कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती भइरहेको छ। आर्थिक वर्ष २०८१÷८२ मा काँकरभिट्टा नाकाबाट रु सात अर्ब ६७ करोड मूल्यबराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि भएको छ। साउन, भदौ र असोज महिनामा मात्रै काँकरभिट्टा नाकाबाट रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।